काठमाडाैं । नेपालीहरूकाे महान पर्व बडादशैं मनाउन काठमाडाैं उपत्यकाबाट एक हप्तामा करिब साढे ४ लाख यात्रु बाहिरिएका छन् ।
घटस्थापनायता शनिबार बिहानसम्म ४ लाख ४० हजार भन्दा बढीको संख्यामा यात्रु बाहिरिएका हुन् । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सबै नाकामा चाप बढेको जनाएकाे छ। शनिबार फूलपातीदेखि सरकारी कार्यालय, विद्यालयसँगै अरु विभिन्न निकायमा पनि बिदा भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्नहरु आ–आफ्नो घर फर्कने क्रम अझ बढ्ने भएकाे हाे।

यसपाली ९ दिन लामो बिदा छ। कात्तिक ८ गते आइतबार समेत बिदा हुने भएकाले सरकारी कार्यालय अब पुर्णिमाको दिन ९ गतेदेखि मात्रै खुल्ने भएका छन् । दशैंका लागि यस वर्ष करिब १० लाख यात्रु बाहिरिने अनुमान गरिएकाे हाे । मौसम पनि घमाइलो हुँदै गएको छ ।
सडकमा कुनै अवरोध नभए पनि यसअघिको बाढी÷पहिरोले बिग्रिएका ठाउँ र खाल्डाखुल्डी लगायतले समस्या भएको यात्रुहरूले गुनासो गरेका हुन् ।






