काठमाडाैं । नेपालीहरूकाे महान पर्व बडादशै मनाउनका लागि आफ्नो गाउँघर फर्किने मानिसको संख्या बढेसँगै काठमाडाैं उपत्यकामा चहलपहल विस्तारै घट्दै गएकाे छ।
जसका कारण उपत्यकाका सडक, बजार र व्यापारिक क्षेत्रमा विगतका दिनको तुलनामा चहलपहल कम हुन थालेको हाे। दशैंको बिदा शुरु भएसँगै रोजगारी, अध्ययन तथा विभिन्न कामका लागि बसोबास गर्दै आएका मानिसहरू आफ्नो जन्मथलो फर्किरहेका छन् ।

सार्वजनिक गाडीमा घर फर्किने यात्रुको चाप बढ्नुका साथै बसपार्क र टिकट काउन्टरहरूमा पनि यात्रुको आवागमन देखिएको हाे। दशैंको किनमेलका कारण केही दिनअघिसम्म व्यस्त देखिने असन, इन्द्रचोक र न्युरोड लगायतका प्रमुख व्यापारिक क्षेत्रमा समेत विस्तारै चहलपहल कम हुँदै गएको छ।
यद्यपि, टीकाको तयारी र अन्तिम समयको किनमेलका लागि बजारमा केही उपभोक्ताको उपस्थिति भने कायमै छ। दशैंमा परिवार र आफन्तसँग भेटघाट गर्दै पर्व मनाउने परम्पराका कारण काठमाडाैं छाेडेर बाहिरिनेको सङ्ख्या बढेको हो ।
फूलपातीसँगै दशैंको रौनक गाउँघरमा बढ्दै जाँदा अबका केही दिनभित्र उपत्यकाका सडक र बजारमा चहलपहल अझै कम हुने भएकाे छ।






