काठमाडाैं। बडादशैं एवं नवरात्रको आठौं दिन आइतबार महाअष्टमी दशैं घर-पूजाकोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
प्रत्येक वर्ष असोज शुक्ल अष्टमी अर्थात दुर्गा पक्षको आठौं दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेकाे हाे। नवरात्रको पहिलो दिन गत असोज २५ गते आइतबार दशैं घर तथा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । साेही दिन घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो।

दोस्रो दिन ब्रह्मचारिणी देवी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठाैं दिन कात्यायनी र शनिबार सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । शनिबारै दशैं घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको हाे ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रमा देशैभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।






