काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ।
अल अमिरात क्रिकेट मैदानमा साेमबार भएकाे खेलमा ओमानमाथि १० रनकाे राेमाञ्चक जित निकालेपछि नेपालले अंक तालिकाकाे छैठाैं स्थानमा सुरक्षित गर्दै लिग-२ टुंगाएकाे हाे। याे जितले नेपाल ३६ खेलमा ३० अङ्कसहित छैठाैं स्थानमा पुगेको छ। लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना बढी रहेकाे हाे।

यसअघि शीर्ष–४ को होडबाट बाहिरिइसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सीधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।
जितका लागि पाएकाे २८१ रनकाे लक्ष्य पछ्याएकाे ओमानले ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन मात्रै बनाउन सक्याे। उसका जतिन्दर सिंह र हम्माद मिर्जाले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन्। सिंहले सर्वाधिक ८९ तथा मिर्जाले ८७ रन बनाएका थिए ।
नेपालका दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले २/२ विकेट लिदा नन्दन यादब र कप्तान सन्दीप लामिछानेले १/१ विकेट हात पारेका छन्। यसअघि नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको थियाे । क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनायो ।
नेपालका ३ जना खेलाडीले अर्धशतक बनाएका छन् । रोहित पौडेल ८०, दीपेन्द्रसिंह ऐरी ६९ र देव खनाल ५७ रन बनाएको आउट भएका हुन् । खेलमा दीपेन्द्र र रोहितले चौथो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी गरेका छन् ।
यसअघि भीम सार्की र गुल्सन झाले चाैथाे विकेटका लागि गरेकाे ९६ रनको साझेदारी साेमबार ताेडियाे। ओमानका शाह फैसलले ५ र जे ओदेद्राले ३ विकेट लिएका छन् ।






