काठमाडाैं । विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडाैंको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला गरिएको छ ।
साेही मन्दिर प्रत्येक वर्ष महानवमीको दिन मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रहेकाे हाे। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले मंगलबार बिहान ५ बजेदेखि खुला गरिएको तलेजु मन्दिरमा साँझ ६ बजेसम्म खुला हुने जानकारी दिनुभयाे । यस दिन तलेजु भवानी मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गएको असोज ३१ गते शनिबार बिहान ७ बजेर ३७ मिनेटमा हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । तुलजा भवानीलाई त्यसै दिन बिहान १० बजेर ३९ मिनेटको साइतमा स्थिरासनमा राखिएको थियो ।
बुधबार विजयादशमीको दिन साइत अनुसार बिहान १० बजेर ५१ मिनेटमा यात्रा गराइने भएकाे छ । अनि बिहान ११ बजेर ५२ मिनेटमा तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने भएकाे हाे ।






