काठमाडाैं । नेपालीहरूकाे महान पर्व बडादशैंकाे अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहित राजनीतिक दलका शीर्ष नेताहरूले सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हाे । बडादशैंले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्न मद्धत पुऱ्याएको उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले बाढी प्रभावित व्यक्तिको पुनःस्थापनाका लागि एकताबद्ध भई अघि बढ्न सबै पक्षलाई अपिल पनि गर्नुभयाे ।

त्यस्तै, साेही अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि बडादशैं एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित चाड भएको बताउनुभएको छ । प्रधानमन्त्री शाहले बडादशैंको शुभकामना व्यक्त गर्दै विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेकाले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना समेत गर्नुभयाे ।
नेपालीहरूले विभिन्न विषम र सङ्कटपूर्ण परिस्थितिहरूबाट गुज्रँदै पनि चाडपर्वका अवसरहरूमा धार्मिक, साँस्कृतिक तथा सामाजिक मूल्य मान्यता र मौलिकताको जगेर्ना गर्दै चाडपर्व मनाउँदै आएकाे समेत प्रधानमन्त्री शाहले स्मरण गर्नुभएको छ ।
त्यस्तै, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि विजया दशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताउनुभयाे । उहाँले बडादशैंले मानिसलाई आफ्नो आचरण र व्यवहारलाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने समेत बताउनुभएको छ ।
त्यस्तै, सभामुख डोलप्रसाद (डीपी) अर्यालले दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत गर्ने बताउनुभयाे । बडादशैंका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रुप प्रदान गर्न माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गर्नुभएकाे छ।
साेही अवसरमा अन्य विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना दिने क्रम जारी रहेकाे हाे।






