काठमाडाैं । देशैभर बडादशैं हर्षोल्लासका साथ मनाइरहँदा रसुवाकाे भोटेकोशी बाढीका कारण प्रभावित परिवारका लागि भने यस वर्षको दशैं पीडा, अभाव र अनिश्चितताबीच बितिरहेको छ।
गत भदौ १० गते आएको बाढीले घरबास उजाड्यो, कतिपय परिवारले आफन्त गुमाए भने केहीका आफन्त अझै बेपत्ता हुन् । विपत्तिले दिएको घाउ निको नहुँदै चाडपर्व आएको छ । काठमाडाैं उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका बाढीपीडितका लागि दशैंको रौनक भन्दा आफ्नो भविष्यको चिन्ता ठूलो बनेको हाे ।

काठमाडाैंको स्वयम्भू क्षेत्रमा चार सय भन्दा बढी बाढीपीडित आश्रय लिएर बसिरहेका छन् । सुन्दरीजलको वीपी चोकस्थित होल्डिङ सेन्टरमा पनि ६८ घरधुरी बाढीपीडित बसिरहेका हुन् । आफ्नो घरमा परिवार र आफन्तसँग बसेर दशैँ मनाउने चाहना भए पनि परिस्थितिले उनीहरूलाई अस्थायी आश्रय स्थलमै सीमित बनाएको छ ।
बालबालिका नयाँ लुगा लगाएर रमाइरहेका छन् भने परिवारका सदस्यहरू मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिरहेका हुन् । तर, बाढीपीडित परिवारका लागि भने यस वर्षको दशैंमा खुसी साट्ने भन्दा विगतको पीडा सम्झिने अवस्था छ ।
बाढीमा आफन्त गुमाएका परिवारका लागि चाडपर्वले झन् दुःख सम्झाएको हाे । कतिपय परिवारका लागि अब कहाँ बस्ने, कसरी जीविकोपार्जन गर्ने र बालबालिकाको पढाइ कसरी अघि बढाउने भन्ने प्रश्नसमेत चुनौती बनेको छ । अस्थायी आश्रय स्थलमा दिन बिताइरहेका उनीहरूका लागि दशैंको खुशी भन्दा दैनिक आवश्यकताको जोहो गर्नु नै मुस्किल रहेकाे छ।
यसैबीच अब विस्तारै चिसो बढ्दै जाने हुँदा होल्डिङ सेन्टरमा बसिरहेका बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य प्रभावित परिवार चिन्तामा छन् । न्यानो कपडा, पर्याप्त ओढ्ने-ओछ्याउने र सुरक्षित बसोबासको व्यवस्था नहुँदा जाडोयाममा थप कष्टकर बन्न सक्ने जोखिम रहेकाे हाे ।






