काठमाडौं । बाँकेको जानकी गाउँपालिका-६, कपासीमा आगलागी हुँदा सात घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
प्रहरीले अर्को एउटा घरको झ्यालमा समेत क्षति पुगेको जनाएको हाे । बुधबार दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत सर्ट भई आगलागी भएको सूचना प्रहरीले पाएको थियो। कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेपछि अपराह्न ४ बजे मात्र आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । कपासीका साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकरएकतले कच्ची घर पूर्ण रूपमा जलेर क्षति भएको हाे। सोही स्थानका जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एक-एकतले कच्ची घर पनि पूर्ण रूपमा जलेर क्षति भएको छ ।
महेश खानको पक्की घरको एउटा झ्यालमा समेत क्षति पुगेको प्रहरीले जनाएको हाे । क्षतिको अरू विवरण खुल्न रहेकाे बाँकी छ। घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हाे।





