काठमाडाैं। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालिकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ ।
नरहरिनाथ गाउँपालिका-९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो । कालिकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ३० वर्ष भन्दा मुनिका खेलाडीहरुमा नवीन विष्ट प्रथम, अनिल दर्जी दोस्रो, अर्जुन ढोली तेस्रो भएका थिए भने, ३० वर्ष भन्दा माथिका खेलाडीहरुमा पहरे दर्जी प्रथम, वीरेन्द्र बोहरा दोस्रो र प्रकाश दर्जी तेस्रो स्थान हासिल गरेको खेल आयोजक समितिका संयोजक विन्दमान लामिछानेले बताएका हुन् । उनका अनुसार खेलमा उत्कृष्ट खेलाडीमा नवीन विष्ट घोषित भएका थिए ।
ओभरअल च्याम्पियनमा ५५ वर्षीया पहरे दर्जी भएको संयोजक लामिछानेले बताएका छन् । उनले दर्जीको उपलब्धिले सबै खेलाडी तथा युवाहरूलाई प्रेरणा दिएको बताएका हुन् । संयोजक छामिछानेले प्रतियोगिता केवल जित र हारमा सीमित नभई युवालाई खेलप्रति आकर्षित गर्ने, दुर्व्यसनमुक्त समाज निर्माण गर्ने र राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानको महत्वपूर्ण उपलब्धि बनेको बताएका छन्।






