काठमाडौं । नेकपा एमालेले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दिवङ्गत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएकाे हाे। निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक घटनाहरू मानवता र मानवीय मूल्य-मान्यता विपरीत भएकाे जारी विज्ञप्तिमा भनिएकाे छ। ‘हामी सदैव विश्व शान्तिका पक्षमा छौं र यस्ता अमानवीय घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछौं जारी विज्ञप्तिमा भनिएको छ ।’

एमालेले नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक रहेको जनाएकाे हाे। वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्नका लागि एमालेले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ।






