काठमाडौं । नेपाली कांग्रेसले साउदी अरबको सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएकाे हाे । कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटनाको निन्दा गरेकाे छ। नेपाल संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक रहेको जनाएको हाे ।

कांग्रेस सभापति गगनकुमार थापाले घटनाप्रति दुःख व्यक्त गर्दै साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि थप प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयाे । उहाँले सम्भावित जोखिमप्रति उच्च शतर्कता अपनाउन तथा आवश्यक परेमा नेपाली नागरिकको उद्धारको प्रबन्ध गर्नसमेत सरकारसँग आग्रह गर्नुभएकाे छ।






