काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारका कारण ६ वर्षीय बालकको मृत्यु भएको छ ।
बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट ज्यान गएको हो । प्रहरीका अनुसार शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा बालक घरनजिकैको बाटोमा खेलिरहेका थिए । सोही क्रममा स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि बालकको टाउकोमा ढुङ्गाले प्रहार गरेका थिए ।

आक्रमण गर्ने भक्तबहादुरको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि स्थानीय पिपल स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो ।
तर, उपचारकै क्रममा शुक्रबार राति १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन् । घटना लगत्तै ढुङ्गा प्रहार गर्ने भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हाे ।






