एजेन्सी । जोर्डनको दक्षिणी सहर कराकमा बन्दुकधारीहरूले गोली प्रहार गर्दा ७ जनाको ज्यान गएको छ ।
एक ग्रिक अर्थोडक्स चर्चमा अन्त्येष्टि समारोह चलिरहेकाे समयमा गोली प्रहार हुँदा अन्य ४० जना घाइते भएका हुन् । राजधानी अम्मानबाट झन्डै १८० किलोमिटर दक्षिणमा रहेको चर्चमा अन्त्येष्टि शुरु भएको १५ मिनेटमै नचिनेका मानिसले अन्धाधुन्ध गोली चलाएका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको हाे । आक्रमणपछि जोर्डन सरकारले देशैभर तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्रधानमन्त्री जाफर हसनले घटनालाई अतिवाद र आतङ्कवादी विचारधाराको परिणाम भन्दै निन्दा गर्नुभएको छ । उहाँले घटनामा संलग्न दोषीहरूलाई कानूनी दायरामा ल्याएर कडा सजाय दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको निन्दा गर्नुभएको छ । प्रवक्ता स्टेफन डुजारिकमार्फत विज्ञप्ति जारी गर्दै महासचिव गुटेरेसले धार्मिक स्थलहरू शान्तिका केन्द्र हुनुपर्ने र सर्वसाधारणमाथिको आक्रमण स्वीकार्य नहुने बताउनुभयो ।
लेबनान, सिरिया, इजिप्ट र ओमानलगायत देशहरूले पनि आतंकवादी आक्रमणको भर्त्सना गरेका छन् ।






