काठमाडाैं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले नेपालले गरेको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदाय समक्ष आग्रह गर्नुभएको छ ।
चाइना इन्स्टिच्युट अफ इन्टरनेश्नल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको अवस्था दर्शाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले विश्वव्यापी शासन जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको प्रसङ्ग उल्लेख गर्दै हिमालय क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदा रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालले हालै अकल्पनीय प्राकृतिक विपद्का घटना भोगेको अवस्थामा जलवायु असर अवस्थालाई पुनः उजागर गरेको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल र भारत लगायत हिमाली देशहरूबीच मौसम सम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली तथा विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न आवश्यक रहेकोमा जोड दिनुभयाे ।






