काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत र सञ्चारको पहुँच विस्तार भएको बताउननुभएकाे छ।
हुम्लाको अदानचुली गाउँपालिका-३ आफूले अध्ययन गरेको सूर्योदय माध्यमिक विद्यालयमा आइतबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। उहाँले विगतमा चामल र नुन ल्याउन समेत निकै दुःख गर्नुपर्ने अवस्था रहेको स्मरण गर्नुभयाे। मुख्यमन्त्री शाहीले आफू विद्यार्थी हुँदा मट्टीतेलको अभावमा झरो बालेर पढ्नुपरेको स्मरण गर्दै अहिले गाउँगाउँमा सडक र विद्युत् पुगेको तथा हातहातमा मोबाइल रहेको बताउनुभएकाे छ।

मुख्यमन्त्री शाहीले संघीय गणतन्त्रपछि प्राप्त उपलब्धिलाई नयाँ पुस्ताले बुझ्नुपर्नेमा जाेड दिनुभयाे। विकासका केही योजना अधुरा रहेको स्वीकार गर्दै विगत र वर्तमानको अवस्थालाई तुलना गर्न आग्रह गर्नुभएकाे छ। दलित समुदायमाथि हुने विभेद र महिलाको शिक्षामा पहुँचको अवस्थासमेत विगतको तुलनामा परिवर्तन भएको उनले बताए। आफू शिक्षक पेसा छाडेर १२ वर्ष जनयुद्धमा लागेको स्मरण गर्नुभयाे।
मुख्यमन्त्री शाहीले महिला, दलित र पछाडि परेका क्षेत्रको विकास तथा अधिकार स्थापित गर्न संघर्ष गरेको बताउनुभएकाे छ। संघीय गणतन्त्रबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै कर्णालीको विकासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयाे।






