काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्नुभएकाे ।
भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपरान्ह पुग्दा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका हुन् । सोही अवसरमा परम्परागत रुपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुको साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गर्नुभएकाे छ । यहाँ ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली नवदेवीको पूजा गरिन्छ । सोही अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गर्नुभयाे ।
दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन रहेकाे छ ।






