काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)की लुम्बिनी प्रदेशसभा सांसद अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएकाे छ।
सांसद काफ्लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र कागजातमा किर्ते तथा जालसाजी भएको आरोप लगाउँदै लुम्बिनी प्रदेशसभाका सभामुखसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएकाे हाे । उहाँले मंगलबार दायर गरेको निवेदनमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य भनिएका सन्तोष पाण्डे र पार्टीको लेटरहेड प्रयोग गरी विवादित पत्राचार गरेको आरोप लागेका अजयकुमार झालाई विपक्षी बनाइएको छ ।

सांसद काफ्लेले उक्त पत्र पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना तयार गरी प्रयोग गरिएको आरोप लगाउनुभयाे। आफूले पार्टी त्याग नगरेको, अर्को दलमा प्रवेश नगरेको र राजीनामा नदिएको अवस्थामा अनधिकृत पत्रका आधारमा पदमुक्त गरिएकोले किर्ते र जालसाजीको मुद्दा दायर गरेको बताउनुभएकाे छ। मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा पार्टीको निर्देशन उल्लङ्घन गरेको आरोपमा यसअघि काफ्लेमाथि कारबाही अघि बढाइएको थियो। संसदीय दलका नेता सन्तोषकुमार पाण्डेको सिफारिसका आधारमा प्रदेशसभा सचिवालयले उहाँको पद रिक्त भएको सूचना जारी गरेको थियो।
यद्दपि, पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी सांसद काफ्लेको पक्षमा अदालतले गत असोज ६ गते उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। जसपा नेपालको नाम, लेटरहेड, छाप तथा पदाधिकारीको अख्तियारी प्रयोग गरी गत भादाैं २२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको र त्यसकै आधारमा गत भदौ २४ गते सांसद काफ्लेलाई पदमुक्त गर्ने सूचना जारी गरिएको थियो। काफ्लेले उक्त पत्र आधिकारिक नभएको र पार्टीको अख्तियारीबिना तयार गरी प्रयोग गरिएको दावी गर्नुभएकाे छ।
सर्वोच्चको अन्तरिम आदेशपछि पनि विवादित पत्रको आधिकारिकता र त्यसको प्रयोग सम्बन्धी प्रश्न उठिरहेकै समयमा सांसद काफ्लेले जिल्ला अदालतमा छुट्टै जालसाजी सम्बन्धी मुद्दा दायर गर्नुभयाे। उहाँले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ र २७७ लगायत प्रचलित कानुनअनुसार कारबाही गर्न माग गर्नुभएकाे छ।
विवादित पत्रको सक्कल प्रति, दर्ता तथा चलानी किताब, कार्यालयीय निर्णय, पार्टीका आधिकारिक पत्राचार, लेटरहेड, छाप र हस्ताक्षरका नमुना परीक्षण गरी संलग्न व्यक्तिहरूको भूमिका यकिन गर्नुपर्ने माग फिरादपत्रमा गरिएको हाे। सांसद काफ्लेले विवादित लिखतलाई कीर्ते तथा जालसाजीपूर्ण घोषित गरी अमान्य बनाउन र आफूले व्यहोरेको क्षतिको कानूनी उपचार दिलाउन समेत माग गर्नुभएकाे छ।








