काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकार लोकतन्त्रका आधारभूत मूल्य र मान्यताविपरीत नियन्त्रणमुखी बाटोमा अघि बढिरहेको आरोप लगाउनुभएकाे छ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शनिबार बोल्दै उहाँले यस्ताे आरोप लगाउनुभएकाे हाे। नागरिकको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका र राज्यका संस्थाहरूको स्वायत्ततामाथि सरकारले नियन्त्रण स्थापित गर्न खोजेको बताउनुभयाे । उहाँले लोकतन्त्रलाई आवधिक निर्वाचन, बहुमतको सरकार र सत्ताको हस्तान्तरणमा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै यसको वास्तविक शक्ति नागरिक स्वतन्त्रता र राज्यका संस्थाहरूको स्वायत्ततामा निहित हुने बताउनुभएकाे छ।

सहमहामन्त्री शिवाकोटीले राज्यका संवैधानिक तथा सार्वजनिक संस्थाहरूले आफ्नो संस्थागत मर्यादा, स्वायत्तता र विश्वसनीयता गुमाउँदै जानु लोकतन्त्रका लागि सकारात्मक सङ्केत नभएको बताउनुभयाे । उहाँले यस्तो अवस्थालाई विद्वान् फ्रान्सिस फुकुयामाले ‘डेमोक्रेटिक ब्याकस्लाइडिङ’ अर्थात् लोकतान्त्रिक अवन्नोतिका रूपमा व्याख्या गरेको पनि बताउनुभएकाे छ।

सरकारको व्यवहार नागरिकको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनमाथि नियन्त्रण स्थापित गर्ने दिशातर्फ उन्मुख देखिएको हाँको भनाइ थियाे । उहाँले पूर्वप्रधानन्यायाधीशलाई रातिराति घरबाट उठाइनु, पत्रकारहरूलाई न्युजरुम र कार्यालयमै पुगेर नियन्त्रणमा लिन खोजिनु तथा व्यवसायीहरूलाई धरपकड र खानतलासी गरिनु चिन्ताजनक भएको बताउनुभएकाे छ।

सहमहामन्त्री शिवाकोटीले सरकारका संयन्त्रहरू प्रयोग गरेर फरक विचार राख्नेहरूलाई रोक्ने र सञ्चारमाध्यमको आवाज बन्द गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयाे । मिडियाकर्मीको कलम खोस्ने प्रयास लोकतन्त्रका लागि डरलाग्दो विषय भएको उहाँको भनाइ छ । उहाँले सर्वोच्च अदालत, न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रशासन र सञ्चारमाध्यमलगायत राज्यका निकायहरूलाई सरकारले नियन्त्रणमा राख्न खोजेको आरोप लगाउनुभयाे।

सहमहामन्त्री शिवाकोटीले सरकार सही बाटोमा अघि नबढेको भन्दै आलोचना गर्नेहरूलाई विभिन्न माध्यम र संयन्त्र प्रयोग गरेर तर्साउने तथा धम्क्याउने काम भइरहेको समेत बताउनुभएकाे छ। प्रधानमन्त्रीका एक सल्लाहकारले सरकारको आलोचना गर्नेहरूलाई नियन्त्रणमा लिन आदेश दिने तर विरोध भएपछि प्रधानमन्त्रीकै नाम लिएर अर्को निकायले त्यसमा आफ्नो संलग्नता नरहेको बताउने गरेको उहाँले बताउनुभयाे।

सहमहामन्त्री शिवाकोटीले प्रहरी, गृहप्रशासन र प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारहरूबीचको जिम्मेवारी तथा जवाफदेहितामाथि प्रश्न समेत उठाउनुभएकाे छ।