काठमाडौं। नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिनमै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ ।
पहिलो दिन आइतबार ७ हजार ५ सयकाे हाराहारीमा सवारी साधनले सुरुङमार्ग प्रयोग गरेका हुन् । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि यहि कात्तिक १५ देखि सडक दस्तुर संकलन शुरु भएको जानकारी दिनुभयाे। उहाँले आइतबार राति १२ बजेदेखि सडक दस्तुर लागू भएको बताउनुभएकाे छ।

सुरुङमार्गको औसत वार्षिक दैनिक सवारी चाप करिब ८ हजार ५ सय रहेको छ । दशैंको समयमा दैनिक १० हजार भन्दा बढी सवारीसाधनले सडक प्रयोग गरेका थिए । तर सुरुङमार्गमा दैनिक करिब पाँच हजार सवारीसाधन चल्ने प्रारम्भिक अनुमान आयोजनाको थियो । पहिलो दिनमै अनुमानभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।
आयोजनाका उपआयोजना निर्देशक पन्थीले नागढुंगा सुरुङमार्ग प्रयोग शुल्कबाट वार्षिक ३५ देखि ४० करोड रुपैंयाँ संकलन हुने अनुमान रहेको बताउनुभएकाे हाे। उहाँले संचारकर्मीसँग कुरा गर्दै साेमबारको डाटा मंगलबार प्राप्त हुने बताउनुभएकाे छ। जस अनुसार पहिलो वर्षको अनुमान त ३५ देखि ४० करोड हुने बताउनुभयाे
आयोजनाका उपआयोजना निर्देशक पन्थीले सवारी चाप, प्रयोगकर्ताको प्रतिक्रिया र आम्दानीको अवस्थाका आधारमा आगामी दिनमा यसको वास्तविक अवस्था स्पष्ट हुँदै जाने बताउनुभएकाे छ।
इन्धन बचतका आधारमा टोल शुल्क निर्धारण
आयोजनाका उपआयोजना निर्देशक पन्थीले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क लिनुको मुख्य आधार प्रयोगकर्ताले प्राप्त गर्ने आर्थिक लाभ भएको बताउनुभएकाे छ। वैकल्पिक सडक हुँदाहुँदै पनि सुरुङमार्ग प्रयोग गर्दा इन्धन खपत कम हुने भएकाले त्यसबाट हुने बचतलाई आधार मानेर शुल्क निर्धारण गरिएको बताउनुभयाे।
आयोजनाका उपआयोजना निर्देशक पन्थीले सुरुङमार्गको शुल्क निर्धारण गर्दा तीनवटा पक्षलाई आधार बनाइएको बताउनुभएकाे छ। पहिलो इन्धन बचतको लागत, दोस्रो सवारीसाधनमा हुने क्षति तथा मर्मतसम्भार खर्च र तेस्रो यात्रामा लाग्ने समयको बचत हो । तर नागढुंगा सुरुङमार्गको हकमा इन्धन बचतबाट हुने आर्थिक लाभको विश्लेषण गरेर मात्रै टोल शुल्क निर्धारण गरिएको उहाँले स्पष्ट पार्नुभयाे ।
आयोजनाका उपआयोजना निर्देशक पन्थीले सुरुङमार्ग प्रयोग नगर्ने सवारीसाधनले पनि यसको व्यवस्थापन खर्चमा योगदान गर्नुपर्ने अवस्था आउन नदिन प्रयोग गर्ने सवारीसाधनबाट मात्रै शुल्क उठाउने नीति लिइएको बताउनुभएकाे छ।






