काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र पछिल्लो समय सार्वजनिक भएका घटनाक्रमले आम नागरिकको न्यायालयप्रतिको विश्वासमा असर परेको बताउनुभएकाे छ।
सिंहदरबारमा साेमबार नेपाली कांग्रेसले आह्वान गरेको प्रमुख प्रतिपक्षी दलहरूको जारी बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले न्यायालयमा व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएकाे हाे। एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउँदैमा न्यायालयको समस्या समाधान नहुने उहाँको भनाइ छ ।

प्रमुख सचेतक ओलीले न्यायालयमा देखिएका विकृति अन्त्य गर्न व्यापक सुधारसँगै पुनर्नियुक्ति र पुनर्गठनको आवश्यकता रहेको बताउनुभयाे। महाभियोगको विषयमा भने छानबिनबाट प्राप्त तथ्य र प्रमाण अध्ययन गरेपछि मात्रै पार्टीले आधिकारिक धारणा बनाउने उहाँले स्पष्ट पार्नुभएकाे छ। उहाँले भन्नुभयाे,- ‘न्यायालयमा जुन किसिमको घटना बाहिर सार्वजनिक भएको छ, त्यो अत्यन्त चिन्ताको विषय हो । आम सर्वसाधारणलाई पनि अरू केही प्रशासनमा विश्वास रहेन भने पनि उसले न्यायालयलाई विश्वास गरिराखेको हुन्छ । विशेषगरी ग्रामीण भेगमा हेर्नुभयो भने न्यायालयप्रतिको विश्वास महत्वपूर्ण हुन्छ।‘
प्रमुख सचेतक ओलीले महाभियोगको विषयमा सरकारले अघि बढाउने प्रक्रियालाई पार्टीले अध्ययन र छलफलपछि मात्रै समर्थन गर्ने वा नगर्ने निर्णय लिने बताउनुभयाे। महाभियोग कुन आधारमा दर्ता हुन्छ भन्ने विषय महत्वपूर्ण हुने उल्लेख गर्दै उनले त्यसको अध्ययन गरेर पार्टीमा थप छलफल गरिने जानकारी दिनुभएकाे छ। उहाँले न्यायालयसँग सम्बन्धित विषयलाई गम्भीरतापूर्वक लिएर संसद्मा छलफल गर्नुपर्नेमा जोड दिनुभएकाे छ।
संसद बन्द रहेकै अवस्थामा देशमा संविधान, प्रहरी तथा सुरक्षा निकाय र अर्थमन्त्रीका अभिव्यक्तिलगायत विभिन्न महत्वपूर्ण विषय सार्वजनिक भइरहेकाले ती विषयमा संसदमै बहस आवश्यक रहेको प्रमुख सचेतक ओलीले बताउनुभयाे। संसद् अधिवेशन आह्वानका लागि पहल गर्ने विषय प्रतिपक्षी दलहरूको बैठकमा उठेको समेत जानकारी दिनुभएकाे छ।






