काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावली अनुसार तत्काल शुरु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साेमबार बसेको बैठकमा मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको हाे । सरकारले यसअघि राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियामा गम्भीर कानुनी तथा प्रक्रियागत त्रुटि भएको पाइएपछि ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।

आयोजनाको प्राविधिक प्रस्ताव स्वीकृत भई सोमबार आर्थिक प्रस्ताव खोल्ने कार्यतालिका तय भइसकेको अवस्थामा कानूनी व्यवस्थाको पालना नभएको देखिएपछि सरकारले शुक्रबार खरिद प्रक्रिया नै रद्द गरेको थियो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्य, सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल र आयोजनाका इन्जिनियरहरुको सहभागिता थियो ।
आयोजना अनुगमन गर्न सिराहा पुगेका विभाग महानिर्देशक रजौरिया र सुनकोशी–मरिण परियोजना प्रमुख रिजाललाई गत बिहीबार प्रधानमन्त्रीको सचिवालयबाट भएको निर्देशन अनुसार नियन्त्रणमा लिएर काठमाडाैं ल्याइएको थियो ।






