काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार जनताका समस्या र राष्ट्रिय प्राथमिकताभन्दा बाहिर गएर राजनीतिक खिचातानीमा केन्द्रित भएको आरोप लगाउनुभएकाे छ।
कांग्रेसले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्ला राजनीतिक घटनाक्रमकाे बारेमा धारणा राख्दै उहाँले यस्ताे आरोप लगाउनुभएकाे हाे। पार्टीको विशेष महाधिवेशनलाई लिएर बजारमा फैलाइएका आर्थिक अनियमितता सम्बन्धी चर्चा निराधार र नियोजित भएको दावी गर्नुभयाे । उहाँले कांग्रेसको विधान अनुसार नै विशेष महाधिवेशन सम्पन्न भएको र त्यसलाई निर्वाचन आयोगले समेत अध्यावधिक गरिसकेको अवस्थामा अनावश्यक प्रश्न उठाउनु महाधिवेशन प्रतिनिधि, निर्वाचन आयोग र सर्वोच्च अदालतकै अपमान भएको बताउनुभएकाे छ।

उहाँले भन्नुभयाे, -‘यो बेला बडा अनर्गल कुरा अहिले बजारमा चर्चामा छ । दलसम्बन्धी ऐन, २०७३ ले नेपाली कांग्रेसको विधानलाई चिन्छ । राजनीतिक दलहरूको विधानलाई चिन्छ, संविधानलाई चिन्छ । सोबमोजिम नेपाली कांग्रेस पार्टीको विधानको दफा १७ को २ बमोजिम विशेष महाधिवेशन भयो । विशेष महाधिवेशनपछि अहिले हामी १५औं महाधिवेशनमा आइपुगेका छौं।’
वरिष्ठ उपसभापति शर्माले विशेष महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै प्रचार गर्नु नियोजित भएको बताउनुभयाे । उहाँले सरकारको निश्चित निकायबाटै यस्तो विषयलाई प्रायोजन गरेर बजारमा ल्याइएको आशंका व्यक्त गर्नुभएकाे छ। विशेष महाधिवेशनपछि निर्वाचन आयोगले पार्टीको विवरण अध्यावधिक गरेको र त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले पनि आयोगको निर्णयलाई सही ठहर गरेको बताउनुभयाे ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति शर्माले सरकारको प्राथमिकतामाथि पनि प्रश्न उठाउनुभएकाे छ। जलवायु परिवर्तन, विपद् व्यवस्थापन र प्रभावित नागरिकको पुनःस्थापनाजस्ता विषयमा सरकार गम्भीर हुनुपर्नेमा जाेड दिनुभयाे। कोप–३१ सम्मेलनमा सहभागी हुन टर्की जानुअघि सरकारले राष्ट्रियस्तरमा जलवायु परिवर्तन र विपद्का विषयमा छलफल गर्नुपर्ने बताउनुभएकाे छ। तर, सरकारले त्यसतर्फ पर्याप्त ध्यान नदिएको उहाँको आरोप थियो ।
वरिष्ठ उपसभापति शर्माले भोटेकोशी क्षेत्रमा आएको विपद् र त्यसबाट प्रभावित नागरिकको पीडालाई सरकारले बिर्सिएको आरोप समेत लगाउनुभएकाे छ । साथै, हिमताल विस्फोटको जोखिमकाे बारेमा विभिन्न अध्ययनले देखाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयाे । विपद् प्रभावित नागरिकलाई सरकारले दिने घोषणा गरेको घरभाडा रकमसमेत समयमै उपलब्ध नगराएको बताउनुभएकाे छ। दशैं बितिसक्दा र तिहार नजिकिँदै गर्दा प्रभावित नागरिकले राहत तथा पुनःस्थापनाका लागि अपेक्षित सहयोग नपाएको बताउनुभयाे।
त्यसैगरी, वरिष्ठ उपसभापति शर्माले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीलाई हटाउने विषयमा पनि सरकारको आलोचना गर्नुभएकाे छ। पारदर्शी अनुसन्धान र स्पष्ट आधार सार्वजनिक नगरी प्रहरी नेतृत्व परिवर्तनको विषय अघि बढाइएको भन्दै उहाँले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउनुभयाे ।
सरकारका प्रवक्ता र सत्तारूढ दलका प्रवक्ताको भनाइमा समेत एकरूपता नरहेको भन्दै उहाँले सिंहदरबार र बालुवाटारमा राजनीतिक अन्योल र रमिता भइरहेको टिप्पणी गर्नुभएकाे छ। वरिष्ठ उपसभापति शर्माले सरकारलाई राजनीतिक विवादमा अल्झिनु भन्दा राष्ट्रिय आवश्यकता, विपद् प्रभावित नागरिकको पुनःस्थापना, जलवायु जोखिम न्यूनीकरण र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयाे।






