काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको सानदार जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार राति सम्पन्न भएकाे दाेस्राे खेलमा काठमाडौंले विराटनगरलाई ९ विकेटले पराजित गरेकाे हाे। टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १८ दशमलव ३ ओभरमा ८३ रनमै अलआउट भयाे । रुपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्।

आन्द्रे रसेल ३ र लोकेश बम ६ रनमा आउट भए भने तीन ब्याटरले खाता समेत खोल्न सकेनन्। काठमाडौंका सन्तोष यादवले ३ र सहन आरच्चिगेले २ विकेट लिएका थिए । ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ९ दशमलव ४ ओभरमै १ विकेट गुमाएर भेट्टायो ।
अस्ट्रेलियन ब्याटरद्वय डेभिड वार्नर ४४ र विलियम बोसिस्टो २३ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाएका थिए। यो जितसँगै काठमाडौंले ३ खेलमा दोस्रो जित निकालेको छ। विराटनगरको भने यो तेस्रो हार हो ।






