काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्न कानूनी तथा नीतिगत सुधारलाई तीव्रता दिने बताउनुभएकाे छ।
नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीकाे बारेमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। पूर्वाधार विकासमा सार्वजनिक लगानी मात्र पर्याप्त नहुने भन्दै सरकारले निजी क्षेत्रलाई समेत सहभागी गराउने गरी कानूनी संरचना परिवर्तन गर्न लागेको बताउनुभयाे । पूर्वाधार विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन आवश्यक रहेको बताउँदै उहाँले पूर्वाधार विकास, आर्थिक सुधार र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभएकाे छ।

अर्थमन्त्री वाग्लेले पूर्वाधार तथा आर्थिक सुधारसँग सम्बन्धित ५९ वटा ऐनका झन्डै ५०० दफा संशोधन तथा परिमार्जन गर्ने तयारी गरेको बताउनुभयाे। यसलाई लगानी, पूर्वाधार र आर्थिक सुधारसँग सम्बन्धित एकीकृत कानुनी सुधारका रूपमा अघि बढाउन खोजिएको उहाँले बताउनुभएकाे छ। उहाँले पूर्वाधार विकासमा सरकारको बजेटले मात्रै अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताउनुभयाे। अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रसँग रहेकाले त्यसलाई पूर्वाधार निर्माणमा परिचालन गर्नुपर्ने उहाँको भनाइ छ।
अर्थमन्त्री वाग्लेले सरकारले सुशासन, आर्थिक सुधार र पूर्वाधार विकासलाई तीन मुख्य प्राथमिकताका रूपमा अघि बढाएको बताउनुभयाे। उहाँले यसलाई ‘गभर्नेन्समा बिग हिट, इकोनोमिक रिफर्ममा बिग ब्याङ र इन्फ्रास्ट्रक्चरमा बिग पुश’ को अवधारणाबाट व्याख्या गर्नुभएकाे छ।उहाँका अनुसार पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउन हाइब्रिड एन्युटी मोडल, वैकल्पिक विकास वित्त कोष, क्लिन इनर्जी बन्ड र अन्य वैकल्पिक वित्तीय स्रोत परिचालन गर्ने तयारी गरिएको हाे।
अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत स्रोत जुटाउने तथा नेपाली बैंकमार्फत साना तथा मझौला उद्योगसम्म लगानी पुर्याउने योजनासमेत सरकारले अघि सारेको बताउनुभएकाे छ। उहाँले विद्युत उत्पादनमा निजी क्षेत्रको सहभागितालाई उदाहरण दिँदै अब पूर्वाधारका अन्य क्षेत्रमा पनि निजी लगानी विस्तार गर्नुपर्ने बताउनुभयाे। सडक, प्रसारण लाइन, ऊर्जा तथा अन्य पूर्वाधारमा निजी क्षेत्रलाई लगानी र सञ्चालनको अवसर दिनुपर्ने बताउनुभएकाे छ। सरकारले पूर्वाधार निर्माणका लागि आवश्यक कानूनी व्यवस्था सहज बनाउँदै लगानीमैत्री वातावरण तयार गर्ने बताउनुभयाे।
सरकारले आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रको आकार एक खर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको पनि उहाँले जानकारी दिनुभएकाे छ। त्यसका लागि वार्षिक ६ देखि ८ प्रतिशतसम्मको आर्थिक वृद्धि हासिल गर्नुपर्ने उहाँले बताउनुभयाे। उहाँले न्यून तथा मध्यम आय भएका मुलुकमा आर्थिक वृद्धिको प्रमुख आधार पूँजी निर्माण भएको उल्लेख गर्नुभयाे। त्यसका लागि पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने बताउनुभएकाे छ।
अर्थमन्त्री वाग्लेले पुराना तथा लगानीमैत्री नभएका कानुन संशोधन र खारेजीको कामसमेत अघि बढाएको बताउनुभयाे। आफू मन्त्री बनेको १५ मिनेटभित्रै १५ वटा पुराना ऐन खारेज गरेर सुधारको सन्देश दिन खोजेको उहाँको भनाइ छ। सरकारले ५ वर्ष स्थिर सरकार, सुशासनयुक्त प्रशासन र परिणाममुखी सेवा प्रवाहको लक्ष्यसहित काम गरिरहेको समेत बताउनुभयाे।






