इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकामा आयोजना हुने चौथो संस्करणको स्टोन स्किपिङ च्यालेन्जको तयारी पूरा भएको छ ।
प्रतियोगिताको विषयमा आयोजक समितिले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हाे। बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन बजारको टिनटोलियामा रहेको पोखरीमा यहि कार्तिक २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक चतरा हाइकिङ समूहका संयोजक भीषण राईले जानकारी दिएका हुन् ।

लोपोन्मुख सीम तित्रा चराको संरक्षणप्रतिको जनचेतना अभिवृद्धि गर्नुका साथै विकास तथा प्रचारप्रसारमा पछाडि परेको मधुवन क्षेत्रको पर्यटन प्रवद्र्धन र पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक संस्थाका संयोजक राईले बताएका छन्। सोही अवसरमा लोपोन्मुख सीम तित्रा चराको तस्बिर अङ्कित प्रतियोगितात्मक टी-शर्ट समेत सार्वजनिक गरिएको आयोजकले जनाएको हाे।
प्रतियोगितामा सहभागिताका लागि स्टोन स्किपरहरूलाई आह्वान गरिएको छ। यस प्रतियोगिताले स्थानीय पर्यटन प्रवद्र्धनका साथै जैविक विविधता तथा लोपोन्मुख चराको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको आयोजकले जनाएकाे हाे।






