काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई नागरिकको अपेक्षा अनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन दिनुभएको छ ।
रास्वपा चितवनले शुक्रबार आयोजना गरेको कार्यक्रममा विशेष सम्बोधन गर्दै सभापति लामिछानेले यस्ताे निर्देशन दिनुभएको हाे। पार्टी सरकारको नेतृत्वमा पुगेपछि नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधि थप जिम्मेवार हुनुपर्ने बताउनुभयो । पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधिलाई समाजले मूल्याङ्कन गर्ने उल्लेख गर्नुभएकाे छ। उहाँले आलोचना गर्ने समाजमाथि आक्रामक हुनु राजनीतिक चरित्र नभएको बताउनुभयो । समाजले देखाएको कमजोरी स्वीकार गरेर सुधार गर्नुपर्ने उहाँको भनाइ छ ।

सभापति लामिछानेले ऐनाले आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र नभएकाे बताउनुभयाे । नागरिकले पार्टीलाई १ सय ८२ सिटसहित सरकारको नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै सभापति लामिछानेले त्यसलाई अहंकारको विषय बनाउन नहुने बताउनुभएकाे छ। पार्टीभित्र माथिदेखि तलसम्म देखिएका कमजोरी सुधार्न निर्देशन दिँदै उहाँले बदला लिने भावनाले काम नगर्न पनि आग्रह गर्नुभयो ।
सभापति लामिछानेले नागरिकले दिएको अभिमतलाई उनीहरूकै अपमान हुने गरी प्रयोग नगर्न चेतावनी दिनुभएकाे छ। उहाँले पार्टी ठूलो भएको भन्दै प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायत राज्यका निकाय आफूहरूको नियन्त्रणमा रहेको ठान्ने अहङ्कार त्याग्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र एकता कायम राख्न पनि आग्रह गर्नुभएकाे छ। सरकारका कामकारबाहीमा सुधारका लागि सुझाव दिनुलाई विवादका रूपमा लिन नहुने उहाँले बताउनुभयाे।
पार्टीले सरकारको काममा बाधा अवरोध नगर्ने स्पष्ट पार्दै सभापति लामिछानेले लोकतन्त्रका स्तम्भ कमजोर पार्ने गतिविधिमा सरकार संलग्न नहुने बताउनुभएकाे छ। सभापति लामिछानेले अदालत, प्रहरी, प्रेसलगायत सार्वजनिक संस्थाका विषयमा अनावश्यक टिप्पणी नगर्न पनि आग्रह गर्नुभयो । सार्वजनिक संस्थालाई कमजोर बनाउँदा देश र लोकतन्त्र दुवै कमजोर हुने उहाँको भनाइ छ।
सभापति लामिछानेले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभयाे। उहाँले त्यसका लागि विधिको शासन अनुसार अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिनुभएकाे छ। भ्रष्टाचार नियन्त्रणको विषय विगतमा रास्वपाले नै जोडदार रूपमा उठाएको स्मरण गराउँदै उहाँले अनुसन्धान नगरी कसैलाई दोषी ठहर गर्ने र पक्राउ गर्ने प्रवृत्ति उचित नहुने बताउनुभयो ।






