काठमाडाैं। नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाट पुलमा बेलिब्रिज जडान गरेर सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
गत असोज २२ गते बूढीगण्डकी नदीमा बाढीले आरुघाटको मुख्य मोटरेबल पक्की पुल बगाएको थियो । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि यस सडक खण्डमा गाडी आवागमन ठप्प भएको थियो । नेपाली सेनाले असोज ३१ गतेदेखि बेलिब्रिज जडानको काम थालेको थियो ।

करिब २७ दशमलव ४३ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको बेलिब्रिज जडान भएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ । बेलिब्रिजमा साेमबारदेखि दुईपाङ्ग्रे गाडी चल्न थालेका र भोलिदेखि चारपाङ्ग्रे गाडी पनि सञ्चालन हुने भएको हाे ।
बेलिब्रिज सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने सेनाको विश्वास छ ।






